Wednesday, April 8, 2020

'लक डाउन'

हिमालतिर हेर्छु र घोरिन्छु-
नितान्त एक्लो छ, समाजका अङ्गहरुबाट टाढा
त्योभन्दा माथिको विशाल गगनलाई नियाल्छु र सोच्दछु-
यो पनि त एक्लो छ, असमाजिक छ।
अनि सम्झन्छु सामाजिक सरका उद्दरणहरु
जो सधैं मलाई "एक्ट्रोभट" हुन उद्देलित गराइरहे
मेरा छरछिमेकी जो मलाई 'सुत्केरी' भनेर खिज्याइरहे
मेरा साथिहरु जो मलाई 'लाटो' बनाएर जीवनभर हाँसिरहे।

म हिमाल जस्तै अटल बन्न चाहे
वायु जस्तै शितल बन्न चाहे
त्यसैले त समाज मलाई असमाजिक भनिरह्यो
मनभित्रका हुटहुटिहरु मनभित्रै परेड खेलिरहे
र त यो मन 'इन्ट्रोभट' बनि चिच्याइरह्यो ।

सबै ज्वारभाटा निलेर एउटा समुन्द्र निदाएको हुन्छ
सम्पुर्ण शरीर जलाएपछि हरबिहान घाम उदाएको हुन्छ
तर सधैं घङ्घङीमा चल्ने सामाजिक भनाउँदो हर-एकलाई
बर्षा यामको भ्यागुतोको ट्यारट्यार समाजिक लाग्दो हो
बतासको बेमौसमी बेगमा सायद बेपनाह प्यार देख्दो हो

आफ्नै वरिपरिका बुझ्रुकहरु बुझ्न खोज्दा खोज्दै
सुइको पाउँछु – यी सबै पतुर कुरा गर्न खप्पिस छन्
जे सत्य भन्दैछन् त्यहीँ कुरा नै मिथ्या छ
जे मिथ्या सम्झिरहेछ्न्, उसैमा जीवन बाँचिरहेछ्न्
जसले मलाई गाउँ डुल्न सुझाए, उनैहरु घर बन्द गरेका छन्
जसले बोल्न उक्साए, आज कतै गुमनाम जिन्दगी बाँच्दै छन्
अजिव लाग्छ परिवर्तन भइरहने सत्य र ध्रुबसत्य देखेर
जहाँ मलाई सामाजिक बन्न कसरत गराइयो
आज त्यहीँ एक्लिन भनिदै छ
जहाँ भेट्घाट र भोजभतेरमा सम्बन्ध साटिन्थें बाँधिन्थें
आज त्यहीँ सामाजिक दुरी नै सुरक्षा मानिदो छ

फगत
म हिमाल जस्तै अटल बन्न चाहे
वायु जस्तै शितल बन्न चाहे
त्यसैले त समाज मलाई असमाजिक भनिरह्यो
मनभित्रका हुटहुटिहरु मनभित्रै परेड खेलिरहे
र त यो मन 'इन्ट्रोभट' बनि चिच्याइरह्यो ।

सबै पिरब्यथा पिएर एउटी आमा मुस्कुराउछे
सारा बोझ बोकेर प्रकृति, चैत- बैशाख आँकुराउछे
प्रेम प्राप्ति मात्र होइन त्याग पनि हो रहेछ
एक्लिनु र छुटिनु त हाम्रो नियती भएछ
भेटिनु र बोल्नु मात्रै सामाजिक हुन्थ्यो भने?
नभनेरै हुने प्रेम सामाजिक किन हुन्थ्यो?

सधैं सधैं मैले मलाई बुझ्न चाहे, आत्मा बुझ्न चाहे
हर समय शुन्यताको कोलाहलमा आफू रम्न चाहे
त्यसैले त समाज मलाई असमाजिक भनिरह्यो
मनभित्रका हुटहुटिहरु मनभित्रै परेड खेलिरहे
र त यो मन 'इन्ट्रोभट' बनि एकान्तमा चिच्याइरह्यो ।



Saturday, January 11, 2020

मलाई पनि त राम्रो मान्छे बन्नु थियो ...












मलाई पनि त राम्रो मान्छे बन्नु थियो
तर..
जिन्दगीको इरादा सायद फरक थियो
.......................................................................
जुन कुरामा मलाई बढी झुकाव थियो
दैवलाई त्यसैमा सायद असहमती थियो
२०१७, १८ र १९लाई  फर्केर हेर्न खोज्छु
थाहा छैन त्यसबेला समयलाई के भन्नु थियो
मलाई पनि त राम्रो मान्छे बन्नु थियो
तर..
जिन्दगीको इरादा सायद फरक थियो
.......................................................................
एकपछी अर्को गर्दै आफ्ना गुमाएँ, आफुँ गुमाएँ
त्यसपछी हो, मैले आँफैलाई चिन्न पाएँ-
महाँस्दा हाँस्नेहरु म रुँदा थिएनन्
आज लाग्छ सायद उनिहरु मेरो तग्दिरमै थिएनन्
जे होस् त्यो बेला...
मलाई पनि त राम्रो मान्छे बन्नु थियो
तर..
जिन्दगीको इरादा सायद फरक थियो
.......................................................................
प्रयास नै नगरेको होइन त्यो पिडा सम्हाल्न
भगवानको झोली खाली थियो सायद यो तक्दिर बदल्न
लुकेर रोएँ, लुकेरै सहेँ - पिडाको खिल मुटुमा थियो
दुनियाँ हाँस्न भन्थ्यो - म रोएर रात कटाएँ
रुँदा रुँदै जे बाँचे आज लाग्छ त्यो जीवन थियो
खैर...
मलाई पनि त राम्रो मान्छे बन्नु थियो
तर..
जिन्दगीको इरादा सायद फरक थियो
.......................................................................
नयाँँ बर्ष नयाँँ पैगाम लिएर आउँछ भन्छन्
दु:खको दियो समयसँगै बुझिजान्छ भन्छन्
पात्रोसँगै प्रण नयाँँ लिनुछैन मलाई
इच्क्षा आफ्नै मारी मारी हाँस्नु छैन मलाई
अघि बढ्दा सम्झिनेछु हिजो समय कस्तो थियो
आफ्नै मन आँफैलाई किन त्यति सार्ह्रो सस्तो थियो
हिजो...
मलाई पनि त राम्रो मान्छे बन्नु थियो
तर..
जिन्दगीको इरादा सायद फरक थियो
.......................................................................
नयाँँ बर्षमा नयाँ केही गर्ने छैन
बस्...
थालेका काम आधा अधुरा राख्ने छैन
बदल्नु छ यो भाग्य हिजो जे जस्तो थियो
अनि भन्नेछन् कोही कसैले त...
"कुनै बेला ऊ पनि मजस्तै थियो
मलाई पनि त राम्रो मान्छे बन्नु थियो
तर..
जिन्दगीको इरादा सायद फरक थियो
जिन्दगीको इरादा सायद फरक थियो...!!"


Saturday, October 19, 2019

बाचा





कति मिठा हुन्छन् दिनरातहरु
तिमीसँग गरेका संवादहरु
बद्ख्वाँइ गरे भन्दैमा बैरिले
किन छाड्छु र तिम्रा हातहरु !

                                                                                                                                                             

...................................................................................................................................................................

Tuesday, February 26, 2019

सम्झना बिर्सना सलललल...


सम्झना बिर्सना सलललल...
झन् झन् बढ्यो तिर्सना सलललल...

दिउँसोको दुई बजाइरहेको मोबाइलको डिजिटल समयलाई मात दिँदै घन्किरहेको बसभित्रको सुरिलो आवाज । बसको खलासी, ड्राइभरभन्दा छिटो र निर्धक्कका साथ बसले छिचोल्दै पुग्ने गन्तब्यसम्मको नाम भट्ट्याउँदो छ। मलखातमा खाँदेको गुन्द्रुकभन्दा अमिला मान्छेहरु थाकेका आँखामा घर सजाउदा छन्। दशैंमा सधैं भगवान् दाहिना हुन् भनेर आशिर्वाद थापेको म - आज पशुपतिनाथ मेरो दाहिने छैनन्। मलाई पशुपतिनाथ भन्दा गीतमा दिलचस्वी जागेको छ।
सम्झना बिर्सना सलललल...
झन् झन् बढ्यो तिर्सना सलललल...

पेशाले गीतसँग सातपुस्ते नाता गाँस्दैन । न त सातपुस्ता मध्धे कोही यो गीतको ऋण खाएको नै छ। तर बसभित्र अपरिचित बनेर बसेको मेरो मन यसै आँखाबाट छचल्किन खोज्दैछ। बिडम्बना गीतमा बिरहको रस छैन; नत्र त फुङ्ग उडेका केही अनुहार किन नसकी नसकी गायक बन्ने चेस्टा गर्दा हुन्। मन त्यसै बहुलाएको छ। मस्तिस्क स्वय मनलाई काबुमा राख्न असक्षम सावित भैरहेछ। गीतले कोहिको मनलाई उफार्दो छ, म एक हुँदो हुँँ, जो प्रतिकुल मौसम लिएर आँखाबाट बर्षात बर्षाउन उद्दत छु।

दिनैभरी थुप्रै मनलाई मुस्कुराएर फर्किने यो मन अहिले त्यसै बौराएको छ। शिक्षक- जो थुप्रै मस्तिस्कको भोक निभाएर फर्केको छ, अहिले उसैको मनमा आगो दन्दनी दन्किरहेछ। बजिरहेको गीत अनेकनेक शब्द छिचोल्दै फेरी त्यही शब्द सापटी लिन्छ -
सम्झना बिर्सना सलललल...
झन् झन् बढ्यो तिर्सना सलललल...











Friday, February 8, 2019

ह्यप्पी भ्यालेन्टाईन डे !

रहरहरुको बिस्कुन सुकाएर बोराभरी भरी
पैसासँग प्रेमिल गुलाब बेच्दै गरेकी आमालाई
किन आउँदैन कहिल्यै
ह्यप्पी भ्यालेन्टाईन डे !
मृत्यु पर्खिएर अनाथालयमा
जल्न तम्तयार लासहरुलाई
किन "सरप्राइज" बोकेर आउँदैन
ह्यप्पी भ्यालेन्टाईन डे !
बिदेशी भूमिमा परिवारका खातिर
जल्दै गरेका सिंदुरहरुलाई
राहत बनेर किन आउँदैन कहिल्यै
ह्यप्पी भ्यालेन्टाईन डे !
पेट पाल्नैका निमित्त
बाटैभरी जीवन ओच्छ्याएर
मागिरहेका कचौराहरुमा
खुशी साटेर किन कोही भन्दैन -
ह्यप्पी भ्यालेन्टाईन डे !

फगत नक्कली फूलमा
प्रेमको जलप लगाएर
बन्द 'बार'मा बारम्बार
कम्मर मर्काउदैमा
बाबाको प्रेमिल छाती
गर्वले कहाँँ फुक्छ र?
पारदर्शी कपडामा तिखा
चाहकिला बत्तिहरुले
बारम्बार बलत्कार गरिरहँदा
आमाको इज्जत कहाँँ जोगिन्छ र?
गन्हाउने रक्सी सिनित्त पार्दै
निलिरहेका ति जिब्राहरुले
जति नै मिठो करार गरे पनि
पसिनाको कटु यथार्थलाई
गलत सावित गर्न कहाँँ सक्छ र? 

प्रेमका खातिर आँफै होमिएका 
पादरी बा ज्युदा हुँदा हुन् त आज 
पुर्पुरोमा हात राख्दै धिक्कार्दा हुन्
यो ब्युरोक्रेटहरुको रासलीला,
यो प्रगतिशिलहरुको प्रपञ्च,
अनि 
आधुनिक समाजको अर्धनङ्गता ।

ब्यापारिक घरानाका बिलासिहरु
र पश्चिमी मनका आलसीहरु - 
कस्ले बुझाउला खै यिनिहरुलाई कि
प्रेम 
९ महिना लात्तिले बजार्दा नि
मुस्कुराउदै सुम्सुमाएका हातहरुमा हुन्छ। 
निस्तो आटो र खोले खाएर
हामीलाई संसार देखाउन 'घोडा' बनेका
बाबाको आशिर्वादमा हुन्छ ।
जन्मघर छोडेर तिमीसँगै मर्ने बाँच्ने
कसम खाएकी प्रियाको आशमा हुन्छ । 
आफ्नै रहरहरु घुटुक्क थुकसँगै निलेर
रातो सिंदुर र हरियो पोते हसाइरहन
पसिना बन्धकी राख्ने
प्रियतमको यादमा हुन्छ। 
ह्यप्पी भ्यालेन्टाईन डे !..........

Saturday, January 12, 2019

म बिल्कुलै फरक छु।



म तिमीसँग नमिल्दो छु
हो, म बिल्कुलै फरक छु।

मिर्मिरेको सुर्योदयसँगै तिमी भाँडाकुटी खेल्दा
म बिछ्यौनामा नवीन जीवनको डायरी कोर्दै हुन्छु।
हिजो मैले छोडेका पाइलैपिच्छे यादहरु
तिमीले निर्ममता पुर्वक मेटाईरहँदा
म मेरै आलिङ्गनमा तिम्रा सपनाहरुको क्यानभास कोर्दै हुन्छु
थाहा छैन दिनले मसँग के रिसबी सँधेको छु
र त सपनाले काँचुली नफेर्दै म यांत्रिक नयन पखाल्दो हुन्छु
तिमी मेरा सपनाहरु सिरकसँगै पट्याईदिन्छौँ
फगत चियाको क्षणिक न्यानोपनको लत लागेजस्तै
म तिम्रो न्यानोपनसँगै आफुलाई समर्पण गर्छु।
किन बुझ्दिनौं तिमी या बुझेर अबुझ बन्छौं तिमी
तिमी प्यास हों चिया गिलासको
जसलाई थाहा छ भोक र बिलासिता
म मात्र गिलास हुँ प्यासीले कैद गरेको
जो जुठील्याएर कतै मिल्काइन्छु।
त्यसैले त,
म तिमीसँग नमिल्दो छु
हो, म बिल्कुलै फरक छु।

तिमी मायकी देवी हौँ हरेकको नजरमा
म पुरुष हुँ, मात्र तिम्रो भगवान् बनेको कहरमा
तिम्रा अनेकन रहरहरु हुन्छन् मसँग जोडिने
मसँग मात्र दु:ख रहन्छन् दिनसँग छोडिने
तिमी हरेक भातका सितासँगै मेरो आयु माग्छौँ
म माटोका डल्लासँग रगतको होली खेल्छु
कुकरको सिटिसँगै तिम्रा ओठ अकस्मात तन्किन्छन्
जसै ढक्कन खुल्छ मेरो भरोसा हावामा कतै गुमनाम हुन्छ
म कोइला हुँ डढिरहने जलिरहने
प्रिया तिमी आगो हौं तताइरहने मताइरहने
त्यसैले त,
म तिमीसँग नमिल्दो छु
हो, म बिल्कुलै फरक छु।

तिमी घर सम्हाल्छौँ गृहिणी बन्छौँ
म पर सम्हाल्छु र पराई बन्छु
तिम्रा पेटले पनि जीवन बोक्न खोज्छ
मेरो मुखै मात्र त हो जुन खोक्न सक्छ
तिमी मेरो थर बोक्छौँ, सिंदुरको दुरी तोक्छौँ
र पिडाको भारी बोक्छौँ
म मेरै जात बोक्छु, दम्भको भकारी भर्छु
र एक्लै भाग्यको सिमा तोक्छु
त्यसैले त,
म तिमीसँग नमिल्दो छु
हो, म बिल्कुलै फरक छु।
म बिल्कुलै फरक छु....।

Thursday, September 20, 2018

लालिगुराँस । Rhododendron

सुन्दरताको पैगाम बाँड्दै हिँड्ने बटुवा
प्रकृतिको कुमारीत्व लुट्दै छ बारम्बार
र पनि निरिह मैना चरी
बिरहको गीत गाएर बाँचेकी छ।
मैना चरी, बिचरी !

न त तिजले मर्काउन सक्यो उसको बारुले कम्मर
न त दसैंले पुछ्न सक्यो दुर्भाग्यको रगत्ताम्मे टिका
सधैंजसो बसेकी छे निराहार ब्रत
जबदेखी उसकी एक्ली छोरी लालीगुराँस भई।
लालिगुरांँस ! निरास ! निरास !

फक्रिन लागेको कलिलो जीवन
पत्र पत्र लुटेर चुसेर फ्याँकिएपछि
मैना चरिको रगतसँगै गन्हाएकी छे
हजारौँ आखाहरु त्यही बाटो भएर हिड्छन्
र पनि सन्नटा बाहेक केही सुनिदैन
मानौं आँखाहरु रगत देख्दा रमाउछन्
र मनहरु लास देख्दा मुस्कुराउँछन्।

मन नभएका मान्छेहरु

मान्छे नबनेका मुटुहरु
धड्किरहेछन बाटो भरी भरी
र त रिम्पोछेको माला बिक्छ
मैना चरिको इज्जत जस्तै
र त्यही रिम्पोछे रातैभरी
अङ्ग्रेजी भजन गाउँछ
तैपनी दिउँसो ऊ गन्हाउँदैन
शायद भगवानलाई पनि
प्यारो छ क्यारे मदिरा
र मदिरासँगै रमाउने "मन्दिरा"

लुटिनेहरु सधैंँ द्रौपदीहरु नै किन?
परिक्षामा होमिनु पर्ने सिताहरु नै किन?
बर्जित फल खान उक्साउने इभ नै किन?
हरेक रात निद्रा सौदा गर्ने किलियोपेट्रा
र हर दुखको उद्गम प्यानडोराहरु नै किन?
प्रश्नै प्रश्नभित्र जेलिएकी छे त्यो मैना चरी
जो मान्छेको मनजस्तै गन्हाएकी छे.
हर दिन सुर्यले आकाशमा एउटा मैनबत्ती जलाउँछ
तर पोल्छ भतभती आमाको मन
हर बिहान सितले आँशुसँगै श्रद्दान्जली दिएर जान्छ
र त्यही लासमाथी टेकेर एउटा भमरा रमाउछ,
त्यो बटुवा रमाउँछ, त्यो रिम्पोछे रमाउँछ
किनकी अब त अबला आमा पनि त
लालिगुराँस बन्दै छे ।

Tuesday, September 11, 2018

इनाम । Reward



प्राचिनकालमा एक राजाले बाटोमा एउटा ठुलो ढुङ्गा राखिदिए र आफुभने जङ्गलको एउटा रुखको आड लिएर लुकेर बसे। त्यो बाटो भएर थुप्रै दरवारीयाहरु र ब्यापारिहरु ओहोरदोहोर गरे तर कसैले पनि त्यो ठुलो ढुङ्गो बाटोबाट हटाउने प्रयाससम्म पनि गरेनन्। बरु उल्टै राजाले बाटोको अवरोध हटाउन नसकेको भनी लाल्छना लगाए।

यो सबै देखिरहेका र सुनिरहेका राजाले एकदिन त्यही बाटो भएर एक साधारण किसान आउँदै गरेको देखे। उसले हातैभरी तरकारी र सागसब्जी बोकेर ल्याएको थियो। जब किसान ढुङ्गाको नजिकै आईपुग्यो तब उसले हातैभरी बोकेको तरकारी भुईमा बिसायो र शरीरमा भएको सम्पूर्ण बल लगाएर बाटो ढुङ्गोलाई किनारा लगायो।

त्यसपछि, ढुङ्गाले च्यापेको एउटा झोला पनि फेला पार्‍यो। त्यो झोलाभित्र सुनका असर्फी र एउटा चिठी थियो। चिठीमा राजाले झोलाभित्रको सम्पूर्ण असर्फी ढुङ्गो ठेगान लगाउने ब्यक्तिका लागि इनाम रहेको अवगत गराएका थिए। त्यो सबै असर्फी आफ्नो भएपछि किसान खुशी भएर राजालाई धन्यवाद दिदै आफुले ल्याएको तरकारी बोकेर आफ्नो बाटो लाग्यो।

Moral of the story : Every obstacle we come across in life gives us an opportunity to improve our circumstances, and whilst the lazy complain, the others are creating opportunities through their kind hearts, generosity, and willingness to get things done.

Saturday, September 8, 2018

गजल



जति पढेपनि अल्पज्ञानी, यो अभाब कसले बनायो ?
जति हेर्‍यो उति अल्छि लाग्ने, यो किताब कसले बनायो ?

उद्देश्य एउटा कर्म अर्कै जिन्दगी भद्रगोल छ
सधैं ठुस्किरहनेलाई, माष्टर'साब कसले बनायो ?

कक्षामा उभिएर दर्शन पढाउन कति सजिलो छ
जागिर खानलाई रट्नैपर्ने, यो दबाब कसले बनायो ?

बर्षदिन पढेको कुरा, ३ घण्टामा सम्झनुपर्छ
उत्तरै नपढी जाँच्नेलाई, ज्ञानी नवाब कसले बनायो ?

ठाडो कपाल, टाईट जिन्स, शरीरभरी ट्याटु
शिक्षकलाई हुने शिक्षार्थीलाई नहुने, यो जवाफ कसले बनायो ?

Friday, August 31, 2018

दृष्‍टिकोण। Perspective



एकदिन २४ बर्षिय युवक रेलको झ्यालबाट बाहिर हेर्दै चिच्याउछ।

"बाबा, हेर्नुस न रुखहरु पछाडी गईरहेका छन्।"

बाबा मुसुक्क मुस्कुराउनु भयो। तर छेवैमा बसेका एक जोडी त्यो युवकको हर्कत देखेर अचम्म मानिरहेका थिए।

त्यतिकैमा, त्यो युवक फेरी चिच्याउछ,"बाबा, हेर्नुस् त बादलहरु हामी सँगसँगै दगुरिरहेका छन्।"

सबै कुरा नियालिरहेका जोडीलाई सही नसक्नु भएपछि त्यो केटोलाई देखेर मुस्कुराइरहेको बुढो मान्छेलाई भन्छन्, "किन तपाईंले आफ्नो छोरोलाई राम्रो डाक्टरकोमा जचाउँन लानुहुन्न?"

प्रतिउत्तरमा, बुढो मान्छे मुस्कुराउँदै भन्छन्,"त्यहीबाट फर्कदै छौं। हो, हामी अस्पातलबाट उपचार पछि फर्कदै छौ।" छोरोलाई मुसार्दै उनी अगाडि बोल्छन्, "मेरो छोरो जन्मदै नेत्र बिहिन भएर जन्मेको थियो। आज जीवनमै पहिलोपटक उसले यो संसारलाई देख्न पाएको छ।"


MORAL : Every single person on the planet has a story. Don’t judge people before you truly know them. The truth might surprise you.

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views