Saturday, November 22, 2025

‘चमेलीको फूल बैजनी रुमाल’ | पुस्तक समीक्षा | Subin Bhattarai



परिचय

भर्खरै बजारमा उपलब्ध भएको आख्यान 'चमेलीको फूल बैजनी रुमाल'को सुबिन भट्टराईको सातौं कृति हो। युवा पुष्ता माझ धेरै रुचाइएका सुबिन भट्टराईलाई साहित्यिक लेखन क्षेत्रमा स्थापित गर्ने पुस्तक 'समर लभ' हो भन्दा फरक नपर्ला जुन उनको दोस्रो कृति हो। सुबिन भट्टराईका प्रकासित कृतिहरु क्रमश: 'कथाकी पात्र', 'समर लभ', 'साया', 'मनसुन', 'प्रिय सुफी', 'इजोरिया' र 'चमेलीको फूल बैजनी रुमाल' हुन् । हालसालै मात्र फाइनप्रिन्टले बजारमा उपलब्ध गराएको यो कथासङ्ग्रहमा ७ ओटा लामा कथाहरु रहेका छन्। 'एक्स', 'चमेलीको फूल बैजनी रुमाल', 'अलमल', 'भुइँ', 'साँझ', '२७५२', र 'भग्नावशेष' गरी ७ उपशिर्षक राखिएका कथाहरु २१६ पृष्ठमा अटाएका छन्।

विषय प्रवेश

यो कथासङ्ग्रहले प्रेमका थरी रङ्गलाई उपशिर्षकबाट पस्किने प्रयास गरेको छ। एउटै प्रेम पनि बिभिन्न रङ्गमा देखाएर मनोबैज्ञानिक विश्लेषण गरिरहेका लेखक सुबिन भट्टराई पाठकलाई लामा लामा कथामार्फत प्रेम महसुस गराउने ध्याउन्नमा देखिन्छन्। प्रेम, मानविय जटिलता र मनोबैज्ञानिक पाटोलाई खोतल्ने प्रयास गरेका सुबिन भट्टराई भावनात्मक लेखनमा सिमित हुँदा कथानकलाई गन्तब्य नपुर्‍याई टुङ्गाइदिएको अनूभूत हुन्छ।युवापुस्ताको मनै लोभ्याउने बिषयबस्तुमा कथाहरु सजाइएको भएपनि आवश्यकताभन्दा बढी बर्णन गरिनुले कथाको भावनात्मक पाटोसँग पाठक जोडिन नसकेको प्रतित हुन्छ। अझ सुरुका कथाहरुमा अलंकारिक वाक्यहरुको बारम्बार प्रयोगले तरकारीमा नुन बेसी भएको झैं लाग्छ।

कथाहरु बारे

पहिलो कथा 'एक्स'मा एकजना प्रेमी आफ्नो पूर्वप्रेमिका एक्सको बिहेमा गएको छ। त्यहाँ उसले बेहुलाको पूर्व प्रेमिका जेडसँग भेट्घात हुन्छ गफगाफ पनि। यही प्रेम काहानी अगाडि बढ्दै जाँदा एक्सको पोलिसिस्टिक ओभरी सिन्ड्रम PCOS का कारण सम्बन्धमा शाररिक दूरी बढाउँदै जाने बिहेको प्रस्तवलाई स्विकार नगर्ने मानसिक जटिलतालाई प्रस्तुत गर्छ। साथै, PCOS का कारण शाररिक रुपमा भोग्नु परेका उल्झन तिनिहरुलाई जिन्दगीमा कसरी कमजोरीबाट शक्त्तिमा बदल्ने भन्ने आत्मविश्वासको पाठ पनि सिकाएको छ। पात्रको प्रेमिका 'एक्स', एक्ससँग विवाहबन्धनमा बाँधिएको केटो 'वाई' वाईकी पूर्व प्रेमिका 'जेट ' बिचको प्रेमसम्बन्ध विवाहलाई विश्लेषण गरिएको यस कथा आधुनिक प्रेम सम्बन्ध यसको जटिलता देखाउँदै हरेक प्रेमिप्रेमिकालाई खुशी रहने बाटो पहिल्याउन समेत प्रेरित गरेको छ।

दोस्रो कथा 'चमेलीको फूल बैजनी रुमाल' समलैङ्गिक सम्बन्धको कथा हो। यसमा चमेलीको फूलले गौरिका शिरिषाको अब्यक्त सम्बन्धको माधुर्यता पवित्रतालाई बुझाउँछ भने बैजनी रुमालले उनिहरुको सम्बन्धको विवसता जतिलतालाई संकेत गर्दछ। सार्वजनिक रुपमा गौरिका शिरिषाले आफ्नो सम्बन्ध लुकाएका भएपनि बैजनी रुमाल उनीहरुलाई जोड्ने एउटा सेतु बन्न पुगेको छ। यही रुमालले उनीहरुलाई बारम्बार कोजी : सेन्टरसम्म पुर्याउँछ।  हाइस्कूलकी साथी नमिताको प्रसङ्गले शिरिषा lesbian भएको पाठकलाई प्रष्ट हुन्छ। विवाहित शिरिषा त्यही नमिताकोजस्तो स्पर्श पाउन गौरिकासँग आकर्षित भएको देखिन्छ। तर कथाको अन्त्यमा पतिसँग सम्भोगमा लिन भएको प्रसङ्गले शरीर पतिसँग भएपनि मानसिक रुपमा उनी गौरिकासँग सहभाव गरिरहेको स्पष्ट हुन्छ।

तेस्रो कथा 'अलमल'ले एकदमै उदण्ड विध्यार्थी बोगटी उसको शिक्षिका बीचको जटिल सम्बन्धका बारेमा पर्दाफास गरेको छ। होस्टलमा बस्दा अरुको समान चोर्ने, चुरोट खाने बोगटी एकदिन चोरीको झुटो आरोप लागेपछि कसरी शिक्षिकाले बोगटीलाई कसरी बचाउँछिन् आफ्नै छोरीले प्रेमी भनेर चिनाएको केटो अरु कोही नभइ त्यहीं बोगटी हुँदा कसरी वातावरण सम्हाल्छिन् भन्नेमा कथा केन्द्रित छ। यस कथामा शिक्षिका नामसँग परेको अलमल, बोगटीसँग छोरीको सम्बन्ध ठीक रहला कि नरहला भन्ने मानसिक भावनात्मक अलमलमा कथा बुनिएको

चौथो कथा 'भुइँ'मा हर्षवीर थापा उनका नाती नितेशको आध्यात्मिक प्रेम सम्बन्ध देख्न पाईन्छ। छोराले छाडेर गएपछि नाति नितेशलाई हुर्काएका हर्षवीरले नातिको भविष्य उज्जवल होस् भनि उसलाई विदेश पठाउन राजी हुन्छन्। कथाले आफ्नो भुइँ अर्थात् आफ्नो आधार, आफ्नो माटो , आफ्नो देश अनी परिवारबाट टाढिनुको पिडा बाध्यतालाई दर्शाउँछ। कथामा नातिले हर्षवीरको चश्मा बनाइदिएको प्रसङ्गले उसमा हजुरबुवाले नैतिकताको जग पनि राम्रोसँग बसालिदिएको प्रष्ट हुन्छ।

पाँचौ कथा 'साँझ' मुख्य पात्र साँझको अठोट र परिश्रमको कथा हो। बुवा सोमनाथ र आमा जमुनाको कोखबाट जन्म लिएकी साँख एमआरकेएच (मायर-रोकिट्यान्स्की-केस्टर-हउजर) सिन्ड्रोमको सिकार भएपछि समाज र परिवारबाट टाढिन पुग्छिन् । जसको फलस्वरुप उनले घर चाडने निर्णय गर्छिन् । एमआरकेएच सिन्ड्रोमका कारण बच्चा कहिल्यै पाउन नसक्ने भएपछि उनी नचाहँदा नचाहँदै आफूभन्दा निकै बुढो ब्यक्तिसँग बिहे गर्नुपर्ने बाध्यताका कारण उनी भागेर काठमाण्डौं आउछिन्। त्यसपछी आफ्नो कमजोरीलाई एकातिर थाती राखेर उनले लोकसेवाको परिक्षा दिई अधिकृत बन्छिन् । जिन्दगीमा कहिल्यै बिहे नगर्ने र आफूले भविष्यमा बच्चा एडप्टेसन गर्ने साहसिक कदमले उनलाई आत्माविश्वासी र वीर नारीपात्रका रुपमा चित्रण गरिएको छ भने उनको प्रगतिशिल विचारधारालाई पनि एउटा प्रेरणाको रुपमा देखाइएको छ।

छैठौं कथा २७५२, ४ जना साथीहरु यात्रामा निस्कदा घटेको घटना हो। यात्रामा म पात्र सिम्रन, र उसका तीन सहयात्री प्रेरणा, डिकी र तपस्वी हुन्छन्। उनीहरु सवार आइटेन कारलाई २७५२ नम्बरको साइन बाइकले बाटो छेक्छ र पछि बाइक दुर्घटना हुन्छ। तत् समयमा उनीहरुको कारमा पनि ढुङ्गाले लागेर सिसा फुट्छ। मनोहरले चलाइरहेको उक्त बाइकमा उसकी छोरी पनि हुन्छे। गाडीमा कसले ढुङ्गा हनेको हो भन्ने प्रश्नको जवाफ खोजिरहेका सिम्रन र उनका साथीहरु अन्तत मनोहर र उसकी छोरीको कारुणिक दुर्घटना पश्चात् छोरीले ढुङ्गा हानेको र हावाको झोक्काले बाइकले नियन्त्रण गुमाएको तत्यसहित कथाले बिट मार्छ।

सातौं र अन्तिम कथा 'भग्नावशेष' न्यू योर्कको कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि सकेर काठमाण्डौं फर्किएका एक युवाले वाल्यकालका प्रिय छिमेकी वाग्ले अङ्कल र उहाँको परिवारसँग सम्बन्ध टुटेको पिडालाई प्रस्तुत गरेको छ। वाग्ले अङ्कल र उनको परिवारलाई जिम्मा दिएर दिल्ली, आगरा र देहरादुनमा १० दिन जति बिताएर फर्किएका मपात्रको बुवाले घर फोडेको र घरको सामान चोरेको आरोप वाग्ले अङ्कललाई लगाएपछि बर्षौ लामो सम्बन्ध भग्नावशेष बन्न पुगेको तितो यथार्थलाई उजागर गरिएको छ। अहम्, अपरिपक्वता र शंकाले जस्तोसुकै बलियो सम्बन्धलाई पनि भग्नावशेष बनाउन सक्छ भन्ने यथार्थ पस्किदै सुबिन भट्टराईले कथाहरुको सिलसिलालाई पूर्णविराम लगाउँछन् ।

मन परेको/नपरेको बारे

पहिलो कथामा कथा छिटोछरितो रुपमा बुनिएको भएता पनि साहित्यिक लेखनका नाममा धेरै बर्णन गरिनु, अधिक रुपकहरुको प्रयोग गरि वाक्य निर्माण गरिनुले पाठकबर्गलाई झिंजो लगाउँछ। दोस्रो कथा "चमेलीको फूल बैजनी रुमाल" समलैंगिक आकर्षणका बारेमा बोल्छ। यधपी, कथानकको बुनाइ निकै फितलो छ। यस पुस्तकमा समेटिएका प्राय कथाहरु चियागफमा श्रवण गरिएका सिवाय केही लाग्दैनन्। कथाहरु पढ्दै गर्दा यस्तो लाग्छ कथाको "सस्पेन्स" लुकाउने नाउँमा कथाकारले कथानकलाइ कुरुप बनाएका छन्। कथाहरुमा यथोचित "Climax" नहुनु र कथाको "Resolution" जबर्जस्ती गाँस्न खोज्नुले कथाहरू गिजोलिएका छन्। सातौं पुस्तकका रुपमा सुबिन भट्टराईले बजारमा ल्याएका यो पुस्तक कथानकका दृष्टिले पहिलो आख्यान सातौं आख्यानभन्दा अब्ब्ल प्र्स्तुत हुन्छ । लेखनीमा सुधार ल्याएका भएपनि आवश्यकताभन्दा बढी वर्णन पस्किनाले पाठकलाई तितो अनुभूति पक्कै हुन्छ। मानविय मनोबिज्ञान र प्रेम सम्बन्धको जटिललाई प्रस्तुत गरिरहँदा कथाले पाठकलाई भावनात्मक रुपमा डोर्‍याउनु पर्ने यथार्थलाई बिर्सिएका छन्। अझ असामान्य प्रेम सम्बन्धहरुलाई कथाका रुपमा उपन्यासिकरण गर्न खोज्दा कथाको लम्बाइ र गहिराइबीच असन्तुलन भएको हेक्का समेत राखेका छैनन्, लेखकले। कथा सङ्ग्रह "चमेलीको फूल बैजनी रुमाल" शिर्षकले सम्पूर्ण कथाका रङ्गहरुलाई समेत्न नसकेको कुरा कथाहरु पढिसक्दा थाहा हुन्छ। लेखनमा Experimentation गरेका सुबिन भट्टराइले कथा लेखन गर्दा सिनेमाको पर्दाभन्दा आफ्ना पाठकको मानसिक रुचीको पर्दालाई प्रधानता दिए लेखनी अझ माझिएको पढ्न पाउनेथिए, पाठकवर्गले। यधपी, कथा सङ्ग्रहमा जुन बिषयमा कथाहरु उठान गरिएको छ ति सबै यथार्थ झल्क्याउने र युवा बर्गलाई रुचिकर लाग्ने विषयवतु नै रहेका छन्।

मेरो अभिमत/रेटिङ्ग

कथाहरु पढिसक्दा कथाको रिजोलुसन वा डेनुमोले पाठकलाई तृप्त पर्नै सक्दैन साथै कथाको क्लाइमेक्स भनिसक्दा पनि लेखक कलम दौडाइरहनुले कथामा Verbosity को प्रयोग गरी पाना मात्र भर्न लेखक उद्दत रहेको भान पर्छ। त्यसैले, मेरो व्यक्तिगत मुल्याङ्कनका आधारमा यस कथा सङ्ग्रह "चमेलीको फूल बैजनी रुमाल"लाई रेटिङ्ग गर्नुपरे म ५ मा २ दिन चाहन्छु।


0 comments:

Post a Comment

My Youtube Channel

News and Research Class 11 Class 12

Page Views